ओलीको दाबी: आलोचना र आक्रोशबीच पनि एमाले बलियो, लोकतन्त्र पराजित हुँदैन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र कमजोर हुँदै गएको भन्ने दाबीलाई अस्वीकार गर्दै पार्टी अझै मजबुत अवस्थामा रहेको बताएका छन्।
एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरूमा पार्टीमाथि भएका आलोचना र आक्रमणका बाबजुद एमालेको जनाधार खस्किन नदिएको दाबी गरे।
ओलीले महाधिवेशनमा देखिएको जनउपस्थितिलाई राजनीतिक उत्तरका रूपमा व्याख्या गरे। “धुवाँ, खरानी र आक्रोशका प्रहार सहँदै पनि यहाँ उर्लिएको जनसागरले स्पष्ट सन्देश दिएको छ- लोकतन्त्र अजेय छ,” उनले भने।
उनले एमाले सकियो भन्ने प्रचारप्रति लक्षित गर्दै ठूलो सभा देखेर मात्रै निष्कर्ष निकाल्न नहुने बताए। महाधिवेशनस्थलमा उपस्थित कार्यकर्तालाई मात्र पार्टीको सम्पूर्ण शक्ति ठान्नु गलत हुने उनको भनाइ थियो। “यो उपस्थिति एमालेको महाशागरको एउटा अंश मात्र हो,” ओलीले बताए।
अध्यक्ष ओलीले पार्टीको संगठनात्मक संरचना, कार्यकर्ता सक्रियता र जनसमर्थनले एमाले अझै राजनीतिक प्रतिस्पर्धामा अग्रस्थानमै रहेको संकेत गरेको दाबी गरे। उनका अनुसार आलोचना र असन्तोषबीच पनि एमालेले आफ्नो पहिचान जोगाइरहेको छ।













