एमालेको ११औँ महाधिवेशन निर्णायक मोडमा, बन्दसत्रबाट आज नेतृत्व चयन प्रक्रिया अघि बढ्दै
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आज निर्णायक चरणमा प्रवेश गरेको छ।
महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा आज बिहान साढे ७ बजेदेखि बन्दसत्र सुरु हुँदैछ, जहाँ पार्टीको आगामी पाँच वर्षको नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ।
शनिबार भक्तपुरको सल्लाघारीमा व्यापक जनसहभागितासहित उद्घाटन सम्पन्न गरेपछि एमाले अब आन्तरिक निर्णय र संगठनात्मक पुनर्संरचनामा केन्द्रित भएको छ।
बन्दसत्रमार्फत पार्टीको केन्द्रीय नेतृत्व, कार्यदिशा र शक्ति सन्तुलन टुंगो लाग्नेछ। देशभरका करिब साढे ६ लाख सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्।
केन्द्रीय कमिटीमा अध्यक्ष एक, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव रहने व्यवस्था छ। महाधिवेशन सञ्चालनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ।
प्रस्ताव र माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको पार्टीले जनाएको छ।
पार्टी नेतृत्व सहमतिमै नेतृत्व चयन गर्ने प्रयासमा रहेको बताइए पनि सहमति नजुटे विद्युतीय मतदान प्रक्रियामा जाने तयारी छ। त्यसका लागि विद्युतीय भोटिङ मेसिनको परीक्षण यसअघि नै सम्पन्न भइसकेको एमालेले जनाएको छ।
बन्दसत्रलाई एमालेको भावी नेतृत्व मात्र होइन, आगामी राजनीतिक रणनीति तय गर्ने महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ।












