नेकपा एमालेका अध्यक्ष ओलीको असन्तुष्टि: आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेको आरोप

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा एमालेका अध्यक्ष ओलीको असन्तुष्टि: आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेको आरोप

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केहि नेताहरूप्रति असन्तुष्टि व्यक्त गर्दै आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेको आरोप लगाएका छन्। भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले केही नेताहरूले अरूका एजेन्डा बोकेको आरोप लगाउँदै आन्तरिक आलोचना गरेका छन्।

अध्यक्ष ओलीले बैठकमा भने, “आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेका छन्। भदौ २३ र २४ गतेको आन्दोलनपछि केही हाम्रै साथीहरूले तत्कालीन प्रधानमन्त्रीलाई अध्यक्षको पदबाट राजीनामा दिनुपर्ने कुरा उठाए। यो कुरा विपक्षी दलहरूले पनि भनेका थिएनन्, मिडियाले पनि भनेको थिएन। अरूका एजेन्डा बोकेर हाम्रै साथीहरू हिँडे।”

ओलीले केही नेताहरूले आफू र पार्टीको विरुद्धमा काम गरेको र बाह्य दबावका आधारमा पार्टीको नीति र निर्णयहरू प्रभावित पार्ने प्रयास गरेको टिप्पणी गरेका छन्। यसैबीच, बैठकमा ओलीले पार्टीको संरचनामा परिवर्तन गर्ने प्रस्ताव पनि प्रस्तुत गरेका छन्।

उनले पदाधिकारीको संख्या १९ र केन्द्रीय कमिटी सदस्य संख्या ३०१ पुर्‍याउने प्रस्ताव ल्याउने तयारी गरेका छन्। यस प्रस्तावले पार्टीको संरचनामा सुधार गर्ने उद्देश्य राखेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका समर्थक नेताहरूले यसका विरोधमा प्रतिवाद गर्ने तयारी गरेका छन्।

गत भदौको पार्टीको विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटीको आकार सानो बनाएको थियो, जसका कारण अहिले अध्यक्ष ओलीले पार्टी व्यवस्थापनमा सुधारका लागि उक्त संरचना बढाउने कदम उठाउने बताएका छन्। यस प्रस्तावको बारेमा पार्टीका विभिन्न नेताबीच मतविभाजन देखिएको छ ।