मन्त्री महावीर पुन भन्छन्: पद नियुक्तिका लागि अनुरोध नगर्न आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पद र जागिरका लागि आफूलाई अनुरोध नगर्न सबैलाई आग्रह गरेका छन्।
फेसबुकमार्फत् सार्वजनिक गरेको एक पोस्टमा उनले नेपालको कुशासन र भ्रष्टाचारको प्रमुख कारणका रूपमा नेताहरूले अयोग्य व्यक्तिहरूलाई अनैतिक तरिकामा नियुक्त गर्ने प्रवृत्तिलाई दोषी ठहराएका छन्।
मन्त्री पुनले आफ्नो पोस्टमा लेखेका छन्, "कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागीर वा स्थान खाली रहेछ, लौ न मन्त्रीज्यू भनिदिनुस् न’ भनेर अनुरोध नगर्नु होला। नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाडेको प्रमुख कारण यही हो।"
उनले जोड दिएका छन् कि अनैतिक रूपले पार्टी र व्यक्तिगत स्वार्थका लागि नियुक्ति दिने प्रथा नै नेपालमा भ्रष्टाचार र कुशासनको फैलावटको मुख्य कारण बनेको छ। "नेताहरूले नियम र कानुन मिचेर, अयोग्य र लोभी व्यक्तिहरूलाई उच्च पदमा नियुक्त गरेका छन्, जसका कारण भ्रष्टाचारको अवस्था अझ बढेको छ र यसले 'जेनजी विष्फोट'को रूप लिएको छ," मन्त्री पुनले भने।
उनले नियुक्ति प्रक्रियामा पारदर्शिता र न्यायिक सुधारको आवश्यकता औंल्याएका छन् ।













