नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा विधान संशोधनका बिषयमा तीव्र विवाद
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको विधान संशोधन गर्ने कि नगर्ने भन्ने बिषयमा तीव्र विवाद उत्पन्न भएको छ। आज बिहान सुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र विधान संशोधनको तयारीस्वरुप दिउँसोका लागि सारिएको छ।
बैठक स्रोतका अनुसार, पार्टीका अध्यक्ष केपी शर्मा ओली आफैँले विधान संशोधनको प्रस्ताव अगाडि नगरे पनि, उनका निकटवर्ती नेताहरूले फ्लोरमा यस विषयलाई उठाएका छन्। पार्टीका अन्य नेताहरू, विशेष गरेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उनका समर्थकहरू भने विधान संशोधनको विरोधमा उभिएका छन्। पोखरेल समूहले केन्द्रीय कमिटी बैठकमा ओलीको नेतृत्वलाई चुनौती दिने तयारी गरेको बताइएको छ।
महाधिवेशनको कार्यक्रम अनुसार, विधान संशोधनको प्रस्ताव पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूको संख्या वृद्धि गर्ने प्रयाससँग जोडिएको छ। तर, यस विषयमा पोखरेल र उनका समर्थकहरूले कडा विरोध जनाएका छन् ।
गत भदौ महिनामा सम्पन्न विधान महाधिवेशनले नयाँ विधान पारित गरेको थियो । यसले तीन महिना नपुग्दै नयाँ संशोधनको आवश्यकता के हो भन्ने प्रश्न उठाएको छ। यसले पार्टीका विभिन्न पक्षमा असन्तोष र असहमतिहरूको स्थिति पैदा गरेको छ। पोखरेल समूहले तीन महिनामा पारित विधानमा अब संशोधन गर्नुको कुनै अर्थ छैन र यसले पार्टीका आन्तरिक विश्वासमा शंका उत्पन्न गरेको तर्क अघि सारेको छ ।
त्यसैगरी, ओलीको नेतृत्वको पक्षमा रहेका नेताहरूले भने, विधान संशोधनका लागि समय आएको र यसले पार्टीको समग्र संरचना र संगठनात्मक गतिबिधिमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार, विधानमा आवश्यक सुधारले पार्टीको भविष्यलाई बलियो बनाउने छ।












