नेकपा एमालेको विधान संशोधन, पदाधिकारी संख्या पुनः १९ बनाइने, वरिष्ठ उपाध्यक्ष पद हटाइने

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा एमालेको विधान संशोधन, पदाधिकारी संख्या पुनः १९ बनाइने, वरिष्ठ उपाध्यक्ष पद हटाइने

काठमाडौ । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गतको अन्तिम केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा संशोधन गर्ने निर्णय गरेको छ।

यस संशोधनसँगै पार्टीको पदाधिकारी संरचना फेरि १९ सदस्यीय हुने भएको छ। यसअघि भदौ महिनामा विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ बनाउने निर्णय गरेको थियो । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त निर्णय महाधिवेशनको हलमा प्रस्तुत हुनेछ।

नयाँ विधानअनुसार, अब अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जनाको संरचना रहनेछ। यसका साथै, पार्टीको वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ । जसका कारण उपाध्यक्षको संख्या ६ बाट घटाएर ५ गरिएको हो। महासचिव र उपमहासचिवको संख्या भने यथावत राखिएको छ।

अघिल्लो विधान संशोधनमा पार्टीका नेताहरूले १५ सदस्यीय संरचनाको प्रस्ताव गरेका थिए । तर आजको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी संख्या नघटाइने र १९ सदस्यीय संरचनामा फर्किने निर्णय गरिएको हो।

यस निर्णयसँगै, पार्टीभित्रका केही नेताहरूले विरोध जनाएका छन्। यसअघि पोलिटब्यूरो बैठकमा पनि पदाधिकारी संख्या नघटाउने र केन्द्रीय कमिटीको संरचना यथावत राख्ने विषयमा छलफल भएको थियो।