नातावाद, कृपावाद र पक्षपातको अन्त्य आवश्यक छः प्रधानमन्त्री कार्की

User Image Prime TV News एक महिना अगाडि
Image of नातावाद, कृपावाद र पक्षपातको अन्त्य आवश्यक छः प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालका राजनीतिक र आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य गर्नु पर्ने आवश्यकताको जोड दिएकी छन् ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानद्वारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै समावेशी विकास र समानताको महत्त्वलाई बल दिइनु पर्नेमा जोड दिइन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा उठेका प्रमुख मुद्दाहरू, विशेष गरी सुशासन र समृद्धिको आवश्यकता, देशको समग्र विकासका लागि महत्त्वपूर्ण रहेको बताइन् ।

"जेनजी आन्दोलनका युवा मित्रहरूले समावेशी समाज र न्यायपूर्ण अवसरहरूको माग गर्दै आवाज उठाएका छन्। यही कुरा संबोधन गर्न अब हामी सबैलाई जिम्मेवारीका साथ अघि बढ्नु पर्छ," प्रधानमन्त्री कार्कीले भनिन्।

समावेशी विकास र समन्यायको मूल आधारको रूपमा जेनजी युवाहरूको आवाजलाई स्वीकार गर्दै उनले नेपालको दीगो विकासका लागि यी मुद्दाहरूको समाधान अनिवार्य रहेको स्पष्ट पारिन् । "समान अवसर र समावेशी समाज बनाउनका लागि सबै जाति, भाषा र संस्कृतिका समुदायको हितमा काम गर्नुपर्छ। यही सुनिश्चित गर्न मात्र हाम्रो राष्ट्र बलियो र समृद्ध बन्न सक्छ," प्रधानमन्त्री कार्कीले भनिन् । 

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारलाई समावेशी विकास र न्यायपूर्ण अवसरहरूको सुनिश्चितता गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेकी थिइन् ।