नेकपा एमालेको महाधिवेशन: केन्द्रीय समितिको चयन खाका पारित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रले पार्टीको केन्द्रीय समितिको चयनको खाका पारित गरेको छ। पार्टीका नेता र कार्यकर्ताहरूको सहभागितामा काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न बन्दसत्रमा केन्द्रीय सदस्य समिति चयनका लागि क्लस्टर प्रणालीमा आधारित प्रस्ताव पारित गरिएको हो।
पारित भएको प्रस्तावअनुसार, आगामी केन्द्रीय समितिको सदस्य चयनमा विभिन्न सामाजिक वर्ग र समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ। प्रस्ताव अनुसार, सात प्रदेश र उपत्यका प्रदेशबाट ४० वर्ष मुनिका एक-एक सदस्य चयन गरिने व्यवस्था गरिएको छ। यसबाहेक, खुल्ला सदस्यबाट ६ र महिलाबाट ३ सदस्य चयन गरिनेछ।
महिला प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिँदै ७३ महिला केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ। यसमा महिलामध्ये ५२ जना खुल्ला प्रतिस्पर्धाबाट, २ जना जनजाति र १७ जना युवा सदस्य चयन गरिनेछन्।
साथै, मधेश र दलित समुदायका लागि पनि स्पष्ट व्यवस्था गरिएको छ। मधेश क्षेत्रबाट २ जना युवा, ८ जना खुल्ला र ४ जना महिला सदस्य चयन गरिनेछ भने दलित समुदायबाट १ जना युवा, ८ जना खुल्ला र ४ जना महिला सदस्य चयन गरिने छन्।
अन्तर्राष्ट्रिय प्रतिनिधित्वको निमित्त, प्रवासमा रहेका नेपालीहरूका लागि भारतबाट १ जना र अन्य देशबाट १ जना केन्द्रीय सदस्य चयन गरिने व्यवस्था गरिएको छ। त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूका लागि १ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था पनि पारित गरिएको छ।












