पार्टीको भविष्य र नेतृत्व शैलीमा सुधारको आवश्यकता छः वरिष्ठ उपाध्यक्ष पोखरेल

User Image Prime TV News २ महिना अगाडि
Image of पार्टीको भविष्य र नेतृत्व शैलीमा सुधारको आवश्यकता छः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौ । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको भविष्य र नेतृत्व शैलीमा सुधारको आवश्यकता औंल्याएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिएर सम्बोधन गर्दै पोखरेलले पार्टीलाई विधि-पद्धति र सामुहिक नेतृत्वमा आधारित प्रणालीतर्फ अघि बढाउनुपर्ने आवश्यकता व्यक्त गरेका छन्। पोखरेलले केपी शर्मा ओलीलाई पार्टीको लोकतान्त्रिकरणमा समर्पित आफ्नो विगतका प्रयासहरूको स्मरण गराउँदै पार्टीले नयाँ दिशा लिनुपर्ने धारणा राखे।

उनले पार्टीलाई आगामी दिनमा सामुहिक नेतृत्व र विधिपद्धति अनुसार चलाउनुपर्ने कुरामा जोड दिए। पोखरेलका अनुसार, "यदि वर्तमान नेतृत्व र कार्यशैलीको सुधार नगर्ने हो भने, पार्टी भविष्यमा दुर्घटनाग्रस्त हुन सक्छ," भनेका छन्।

बन्दसत्रमा बोल्दै पोखरेलले नेकपा एमालेको इतिहासको सम्झना गर्दै महाधिवेशनको आयोजना गर्नु आफ्नो लागि ठूलो अवसर भएको बताए। उनले पार्टीको स्थापनादेखि हालसम्मको महाधिवेशनहरूको आयोजनामा आफ्नो भूमिका र योगदानको बारेमा पनि उल्लेख गरे। पोखरेलले थप भने, "पार्टीमा विचारको भन्दा कार्यशैलीमा बढी समस्या देखिएको छ, जसले पार्टीको स्थिरता र भविष्यमा प्रतिकूल असर पुर्याउन सक्छ।"

उनले पार्टीको भविष्य सुनिश्चित गर्न सामुहिक नेतृत्व र लोकतान्त्रिकरणलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएका छन्। उनका अनुसार, "पार्टीको एकता र समृद्धिका लागि विचार र नेतृत्वमा सुधार गर्नु अत्यन्त आवश्यक छ।"