एमाले महाधिवेशनमा निर्वाचन प्रक्रिया तीव्र, मतदाता नामावली आज सार्वजनिक हुँदै
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेदेखि लागू हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार पुस १ गतेसम्म विभिन्न चरणका कार्यक्रम सञ्चालन हुनेछन्।
कार्यतालिकाअनुसार आज साँझ ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। पुस २९ गते बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी, विरोध र सुधारका लागि समय तोकिएको छ।
त्यसपछि बिहान साढे ९ बजे दाबी–विरोध तथा सुधारसम्बन्धी सूचनाको प्रकाशन हुनेछ। बिहान १० बजे ती दाबी–विरोधमाथि छानबिन तथा निर्णय गरिनेछ भने सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशनमार्फत आगामी पाँच वर्षका लागि एमालेको नयाँ केन्द्रीय नेतृत्व चयन गरिने भएकाले निर्वाचन तालिकालाई पार्टीभित्र निर्णायक चरणका रूपमा हेरिएको छ। सहमतिमा नेतृत्व चयन हुन नसके यही प्रक्रिया अनुसार निर्वाचनमा जाने तयारी गरिएको एमालेले जनाएको छ।













