बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच नजिक भएको सामूहिक गोलीकाण्डपछि सहर उच्च सतर्कतामा राखिएको छ। आइतबार साँझ भएको घटनामा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।
स्थानीय समयअनुसार साँझ ६:४७ बजे पार्क क्षेत्रमा गोली चलेपछि न्यु साउथ वेल्स प्रहरीले ‘एक्टिभ सुटर’को सूचनाका आधारमा तत्काल ठूलो सुरक्षा अपरेसन सुरु गरेको थियो।
प्रहरीका अनुसार मृतकमध्ये एक जना बन्दुकधारी पनि छन् भने अर्को संदिग्ध आक्रमणकारी गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।
घटनामा दुई जना प्रहरी अधिकारीसमेत घाइते भएका छन्। हाल करिब ४० जना विभिन्न अस्पतालमा उपचाररत रहेको बताइएको छ। गोली चलेपछि समुद्री तट र आसपासका क्षेत्रबाट सयौँ मानिस भागेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
न्यु साउथ वेल्स प्रहरीले बोन्डी बीच क्षेत्रमा अझै सुरक्षा अपरेसन जारी रहेको भन्दै सर्वसाधारणलाई घटनास्थल नजिक नजान र आधिकारिक निर्देशन पालना गर्न आग्रह गरेको छ। प्रहरीले घटनासँग सम्बन्धित भिडियो र प्रत्यक्षदर्शीका बयान संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।
यसैबीच, घाइतेको उपचारमा रगतको आवश्यकता बढेपछि लाइफ ब्लड अष्ट्रेलियाले ‘ओ’ नेगेटिभ रगतको आपतकालीन माग गरेको छ। सिड्नीका नागरिकलाई रक्तदानका लागि आह्वान गरिएको छ।













