एमाले महाधिवेशनमा पोखरेल पक्षको शक्ति प्रदर्शन, अधिकांश पदमा उम्मेदवार तय
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल पक्षले नेतृत्व चयनका लागि आफ्ना उम्मेदवारहरू लगभग टुंग्याएको छ।
स्रोतका अनुसार महासचिव, उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा अधिकांश नाम निश्चित भइसकेका छन् भने केही पदमा छलफल जारी छ।
पोखरेल पक्षले महासचिव पदका लागि सुरेन्द्र पाण्डेलाई अघि सारेको छ। उपाध्यक्ष पदमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम तय भएको छ भने एक उपाध्यक्ष पद अझै खुला राखिएको जनाइएको छ।
उपमहासचिव पदमा योगेश भट्टराईको नाम निश्चित गरिएको छ। बाँकी दुई उपमहासचिव पदमा आन्तरिक छलफल र समीकरण मिलाउने प्रयास भइरहेको स्रोतले जनाएको छ।
सचिव पदका लागि कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम अन्तिम गरिएको बताइएको छ।
महाधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भइरहेकै बेला पोखरेल पक्षले उम्मेदवार तय गरेर आन्तरिक तयारी तीव्र बनाएको देखिएको छ। बाँकी पदमा सहमति जुट्ने वा प्रतिस्पर्धा हुने भन्ने विषय आगामी छलफलपछि स्पष्ट हुने नेताहरूको भनाइ छ।













