जेलेन्स्कीले भूभाग त्याग्ने प्रस्ताव अस्वीकार

User Image Prime TV News एक महिना अगाडि
Image of जेलेन्स्कीले भूभाग त्याग्ने प्रस्ताव अस्वीकार

काठमाडौ । रुस–युक्रेन युद्ध अन्त्यकालागि कूटनीतिक पहल तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका सीमाना स्पष्ट पारेका छन्। उनले युक्रेनका लागि भूमि र सार्वभौमसत्ता कुनै पनि सम्झौताभन्दा माथि रहेको बताउँदै भूभाग त्याग्ने प्रस्ताव अस्वीकार गरेका छन्।

जेलेन्स्कीले पश्चिमी राष्ट्रहरूले ठोस र कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टी दिएमा युक्रेन नेटो सदस्यताको मागबाट पछि हट्न सक्ने संकेत दिएका छन्। तर, उनले यो विकल्पलाई “ठूलो सम्झौता” को संज्ञा दिँदै सुरक्षा ग्यारेन्टी केवल राजनीतिक आश्वासनमा सीमित हुन नहुने स्पष्ट पारेका छन्। उनका अनुसार यस्ता ग्यारेन्टी अमेरिकी संसदबाट अनुमोदित हुनुपर्छ।

बर्लिनमा भएको उच्चस्तरीय वार्तामा जेलेन्स्कीले अमेरिकाका विशेष दूत स्टिभ विटकफ, राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेराड कुशनर र जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँग भेटवार्ता गरेका थिए। वार्तामा युद्धपछिको सुरक्षा संरचना र युक्रेनको दीर्घकालीन स्थायित्वबारे छलफल भएको बताइएको छ।

शान्ति प्रक्रियामा सबैभन्दा संवेदनशील विषय पूर्वी डोनेट्स्क क्षेत्र बनेको छ। जेलेन्स्कीले डोनेट्स्कमा गैरसैन्य आर्थिक क्षेत्र बनाउने अमेरिकी सुझावलाई अव्यवहारिक भन्दै अस्वीकार गरेका छन्। उनले यदि युक्रेनी सेना पछि हट्ने हो भने रुसी सेना पनि समान दूरीसम्म फिर्ता हुनुपर्ने प्रश्न उठाएका छन्।

रुसतर्फबाट राष्ट्रपति पुटिनका सल्लाहकार यूरी उशाकोभले डोनेट्स्कमा रुसी सुरक्षाकर्मी रहने संकेत गर्दै सम्झौताको प्रक्रिया लामो र कठिन हुने चेतावनी दिएका छन्। उनले युक्रेन र युरोपेली मुलुकका प्रस्तावप्रति रुसको कडा आपत्ति रहने बताएका छन्।