केपी शर्मा ओली नेतृत्वको समूहले महाधिवेशनमा पदाधिकारीको नाम तय गर्यो

User Image Prime TV News एक महिना अगाडि
Image of केपी शर्मा ओली नेतृत्वको समूहले महाधिवेशनमा पदाधिकारीको नाम तय गर्यो

काठमाडौ । नेकपा एमालेको आगामी ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीका प्रमुख पदाधिकारीहरूको नाम लगभग टुंगो लगाएको छ।

पार्टी स्रोतका अनुसार, ओली समूहले आगामी महाधिवेशनमा नेतृत्वमा निरन्तरता दिने निर्णय गरेको छ । जसमा धेरै पुराना नेता र कार्यकर्तालाई प्रमुख जिम्मेवारीहरू दिइएको छ। केपी शर्मा ओली यसपालि पनि पार्टीको अध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत हुनेछन्।

ओलीको नेतृत्वमा पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका लागि नामहरू तय गरिएको जानकारी प्राप्त भएको छ। ओली समूहले उपाध्यक्षकालागि विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंग्याएको छ।

यी नेताहरूले पार्टीका १०औं महाधिवेशनमा पनि उपाध्यक्षका रूपमा कार्य गरेका थिए र यसपटक पनि उनीहरूको नाम निश्चित गरिएको छ। महासचिवको रूपमा शंकर पोखरेलको नाम पनि निरन्तरता दिइएको छ। पोखरेल १०औं महाधिवेशनबाट महासचिवका रूपमा निर्वाचित भएका थिए  ।

अब ११औं महाधिवेशनमा पनि उनले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनेछन्। ओली समूहले उपमहासचिवका लागि विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालको नाम तय गरेको छ।

यस्तै, सचिवको रूपमा लेखराज भट्ट, छविलाल विश्ववकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम निश्चित गरिएको छ। भट्ट, विश्ववकर्मा र अर्याल १०औं महाधिवेशनबाट पनि सचिव बनेका थिए।