लेखराज भट्टले सचिव पद अस्विकार, नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ समीकरण
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत केपी शर्मा ओली समूहले विभिन्न पदाधिकारीहरूको नाम फाइनल गर्दै आन्तरिक निर्णय प्रक्रियामा नयाँ मोड ल्याएको छ।
महाधिवेशनको क्रममा अध्यक्ष दाबेदार केपी शर्मा ओलीले उपाध्यक्ष र सचिव पदका उम्मेदवारहरूको नाम सार्वजनिक गरेका थिए। तर, सचिव पदका उम्मेदवार लेखराज भट्टले आफ्नो उम्मेदवार नबन्ने निर्णय गरेका छन्। भट्ट, जो पूर्व माओवादी पृष्ठभूमिका नेता हुन् ।
उपाध्यक्षका लागि ओली समूहले विष्णु पौडेल, रामबहादुर थापा 'बादल', गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीलाई नाम सिफारिस गरेको छ। विशेषत: प्रदीप ज्ञवालीले महासचिवको पदमा उम्मेदवारी दिन चाहेका थिए ।
तर अन्ततः उनलाई उपाध्यक्षको पदमा सहमति दिइएको छ। महासचिवका लागि शंकर पोखरेलको नाम फाइनल गरिएको छ। पोखरेलले अन्तिम समयसम्म आफ्नो उम्मेदवारीको दाबी नछाडेपछि ज्ञवालीलाई उपाध्यक्षको पदमा समायोजन गरिएको हो।
सचिवको पदमा नौ जनालाई चयन गर्नुपर्नेछ र ओली समूहका नाम फाइनल भएका उम्मेदवारहरूमा पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई रहेका छन्। लेखराज भट्टको उम्मेदवार नबन्ने निर्णयपछि, अब यस सूचीमा नयाँ उम्मेदवारको समावेश गर्नुपर्ने स्थिति आएको छ।












