नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु, अध्यक्ष पदको लागि १५ हजार शुल्क तोकियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ।
पार्टीका केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको लागि विभिन्न पदहरूको दर्ता शुल्क तोकेको छ। अध्यक्ष पदको उम्मेदवारीको लागि १५ हजार रुपैयाँ तोकेको छ । अन्य केन्द्रीय पदाधिकारी र आयोगका अध्यक्षकालागि १० हजार र केन्द्रीय सदस्य र आयोगका अन्य पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ।
नेता र कार्यकर्ताको लागि समान अवसर सुनिश्चित गर्ने उद्देश्यले पार्टीका केन्द्रीय निर्वाचन आयोगले शुल्क तोकेको जनाएको छ । एमालेको आगामी नेतृत्वको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन् ।
दुवैले आफ्नो प्यानल तयार पारेर आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उम्मेदवारी दर्ता गरिरहेका छन्। ओली र पोखरेल दुवै नेता प्यानल बनाएर चुनावमा उत्रिएका छन्, र दुवैले उपाध्यक्ष, उपमहासचिव, सचिव लगायत अन्य प्रमुख पदका उम्मेदवारहरूको नाम टुंग्याएका छन्। एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारी चयन गर्ने निर्णय गरेको छ।













