खगेन्द्रप्रसाद र रूद्रकलीलाई गरियो विदाई, पुस २ गते कतार जाँदै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of खगेन्द्रप्रसाद र रूद्रकलीलाई गरियो विदाई,  पुस २ गते कतार जाँदै

काठमाडौ । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई चितवनस्थीत बसोबासस्थलबाट बिदाइ गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई सोमबार विदाई गरेको हो ।

आगामी पुस २ गते भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ । हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो ।

खगेन्द्रप्रसाद र रूद्रकलीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा पुराइने र पुस २ गते कतार एयरवेजको चार्टर फ्लाइटबाट सिधैँ कतार लगिने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिए । 

विदाई कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाललाई संसारसामू चिनाउन हात्ती उपहारले महत्वपूर्ण भूमिका खेल्ने भएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए । कतार पठाउन लागेका खगेन्द्रप्रसाद भाले हात्ती छ वर्षको र रुद्रकली पोथी हात्ती सात वर्षका छन् ।

विसं २०८१ बैंशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो ।