एमाले महाधिवेशनमा आज निर्णायक दिन, नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान हुँदै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमाले महाधिवेशनमा आज निर्णायक दिन, नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान हुँदै

काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुँदैछ। पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र स्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ।

यस महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित आमनेसामने उत्रिएका छन्। आयोगले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार नामावलीअनुसार दुवै नेताबीच नेतृत्वको मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदान विद्युतीय प्रणालीबाट गरिनेछ। यसका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइनेछ। एक प्रतिनिधिले मत हाल्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा देशभरबाट २ हजार २६३ प्रतिनिधि सहभागी छन्।

संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा छ। तीन उपमहासचिव पदका लागि छ जना उम्मेदवार मैदानमा छन् भने नौ सचिव पदमा २० जनाले दाबी प्रस्तुत गरेका छन्।

त्यस्तै, केन्द्रीय सदस्य पदमा विभिन्न भूगोल र समावेशी कोटाबाट एक हजारभन्दा बढी उम्मेदवारी दर्ता भएका छन्। मतदान सम्पन्न भएपछि विद्युतीय मेसिनमार्फत मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।