एमाले महाधिवेशनमा समावेशी कोटाबाट ११ केन्द्रीय सदस्य निर्विरोध चयन

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमाले महाधिवेशनमा समावेशी कोटाबाट ११ केन्द्रीय सदस्य निर्विरोध चयन

काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा समावेशी तथा प्रदेशगत कोटाबाट ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूचीमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध चयन भएका हुन्।

लुम्बिनी प्रदेशबाट महिला केन्द्रीय सदस्यतर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन्। उक्त प्रदेशमा महिला कोटाबाट तीन सदस्य चयन हुने व्यवस्था रहेकाले तीनै जनाको मात्रै उम्मेदवारी परेपछि निर्वाचन आवश्यक नपरेको आयोगले जनाएको छ।

मधेशी कलस्टरअन्तर्गत युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्। दुई पदमध्ये एक पदमा उम्मेदवारी नपरेपछि सो पद रिक्त रहने भएको छ।

समावेशी कोटातर्फ मुस्लिम महिलाबाट खाजिदा खातुन सिद्धकी, श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध चयन भएका छन्।

त्यसैगरी, पिछडिएको क्षेत्र महिलातर्फ वदमीक्वारी बुढा, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे तथा ४० वर्षमुनिका युवातर्फ नरेश रोकाया र सुशिलकुमार थापा पनि निर्विरोध निर्वाचित भएका छन्।

यससँगै एमालेका विभिन्न आयोगका पदाधिकारीहरू पनि निर्विरोध चयन भएका छन्। अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे चयन भएका छन्।

लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि एकल उम्मेदवारीका आधारमा निर्विरोध निर्वाचित भएका छन्।