नेतृत्वले सन्तुलित र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेः उपाध्यक्ष पदका उम्मेदवार पौडेल

User Image Prime TV News ४ हप्ता अगाडि
Image of नेतृत्वले सन्तुलित र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेः  उपाध्यक्ष पदका उम्मेदवार पौडेल

काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्णायक घडीमा उपाध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद पौडेलले पार्टी नेतृत्वप्रति सन्देशमूलक अभिव्यक्ति दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका पौडेलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पार्टीलाई मजबुत राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न नेतृत्वले सन्तुलित र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

उनले एमालेको नीति, कार्यक्रम र संगठनबीच बलियो तालमेल आवश्यक रहेको उल्लेख गर्दै अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोडिनु नै अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। ओली नेतृत्वको प्यानलभित्र उम्मेदवार चयनका क्रममा असन्तुष्टि देखिएको समयमा आएको पौडेलको भनाइलाई अर्थपूर्ण रूपमा लिइएको छ।

उम्मेदवारी दर्ताका बेला महासचिव पदमा नाम नपरेपछि प्रदीप ज्ञवाली असन्तुष्ट देखिएका थिए भने राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। पछि ज्ञवालीले ओली नेतृत्वकै साथमा रहने स्पष्ट पारेका छन् भने गौतमले पनि उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिइसकेका छन्।