अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध दिए मानहानि मुद्दा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध दिए मानहानि  मुद्दा

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानि तथा अनुचित व्यापार अभ्यासको आरोप लगाउँदै फ्लोरिडाको अदालतमा मुद्दा दायर गरेका छन्।

बीबीसीको ‘पानोरमा’ कार्यक्रम अन्तर्गत प्रसारित वृत्तचित्रमा जनवरी ६, २०२१ मा दिएको आफ्नो भाषणलाई तोडमोड गरी देखाइएको दाबी गर्दै ट्रम्पले प्रत्येक अभियोगमा ५ अर्ब अमेरिकी डलर क्षतिपूर्तिको माग गरेका छन्।

अदालतमा दायर निवेदनमा ट्रम्पले बीबीसीले जानाजानी र दुर्भावनापूर्वक आफ्नो अभिव्यक्तिलाई सम्पादन गरी आफूले हिंसात्मक कार्यका लागि प्रत्यक्ष आह्वान गरेको झूटो सन्देश फैलाएको आरोप लगाएका छन्।

जनवरी ६ मा क्यापिटल दङ्गाअघि ट्रम्पले समर्थकहरूलाई क्यापिटलतर्फ जाने र सांसदहरूको समर्थनमा आवाज उठाउने बताएका थिए। करिब ५० मिनेटपछि उनले ‘हामी कडासँग लड्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए। तर बीबीसीको कार्यक्रममा यी भनाइलाई एउटै सन्दर्भमा जोडेर प्रस्तुत गरिएको ट्रम्पको दाबी छ।

बीबीसीले उक्त सम्पादनले भ्रमपूर्ण प्रभाव पर्न गएको स्वीकार गरेको भए पनि ट्रम्पको क्षतिपूर्तिको माग अस्वीकार गर्दै मानहानिको आरोप निराधार भएको बताएको छ। मुद्दा दायर हुनु अघि नै बीबीसीका कानुनी टोलीले ट्रम्पको दाबीमा प्रतिक्रिया दिँदै सम्पादनमा कुनै दुर्भावना नभएको र उक्त कार्यक्रमले ट्रम्पलाई वास्तविक क्षति नपुर्‍याएको तर्क प्रस्तुत गरेका थिए।

यस प्रकरणमा बीबीसीले ट्रम्पसँग औपचारिक रूपमा माफी मागेको छ। यसअघि भाषण सम्पादनसम्बन्धी आन्तरिक मेमो सार्वजनिक भएपछि विवाद चर्किएको थियो, जसका कारण बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले पद त्याग गरेका थिए ।