ओलीको नेतृत्वमाथि योगेश भट्टराईको प्रश्न: एउटै व्यक्ति कति पटक अध्यक्षको दाबेदार ?

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ओलीको नेतृत्वमाथि योगेश भट्टराईको प्रश्न: एउटै व्यक्ति कति पटक अध्यक्षको दाबेदार ?

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरन्तर नेतृत्व आकांक्षामाथि प्रश्न उठाएका छन्।

राजधानीको भृकुटीमण्डपमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एउटै व्यक्तिले पटक–पटक नेतृत्वमा दाबी गर्नु पार्टीको लोकतान्त्रिक अभ्यासका लागि उचित नभएको टिप्पणी गरे। भट्टराईले अध्यक्ष ओलीले विधानअनुसार तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएको देखिए पनि व्यवहारतः यो उनको चौथो प्रयास हो।

उनले आठौँ, नवौँ, दशौँ र अहिले ११औँ महाधिवेशनमा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको स्मरण गराउँदै प्रश्न गरे, “एउटा नेताले एउटै पदमा कति पटक उम्मेदवारी दिन सक्छ ?” उनले पार्टीभित्र दुई कार्यकालको अवधारणालाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै अहिले त्यो सम्भव नभए पनि भविष्यमा एमाले सोही दिशामा जानुपर्ने बताए।

साथै, महाधिवेशनमा अध्यक्ष ओली पक्षबाट सार्वजनिक गरिएको प्यानलप्रति संकेत गर्दै भट्टराईले मुख्य नेतृत्वबाटै समूहबन्दी सुरु भएपछि अब गुटबन्दी गर्न नपाइने भन्ने नैतिक आधार सकिएको धारणा राखे। “नेतृत्वबाटै समूह बनेपछि प्रतिस्पर्धाको बाटो सबैका लागि खुला भयो,” उनले भने, “अब ट्राफिक नियम पालना गर्दै जसले पनि आफ्नो गाडी चलाउन सक्छ।”

भट्टराईले निर्वाचन आयोगको आचारसंहिताले समूहगत प्रचारमा रोक लगाए पनि पार्टीको आधिकारिक जस्तो देखिने सूची सार्वजनिक हुनु समूहकै भावनाबाट प्रेरित भएको तर्क गरे।