पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बस्ने, तर बिजनेस अभावको चुनौती

User Image Prime TV News ४ हप्ता अगाडि
Image of पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बस्ने, तर बिजनेस अभावको चुनौती

काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक आह्वान गर्ने तयारी भइरहेको बताएका छन्।

कृषि समितिको हल निर्माण कार्य सम्पन्न भएपछि बैठक बोलाइने र यस विषयमा छिट्टै प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिने उनले जानकारी दिए। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक सञ्चालन गर्न सरकार असहमत नभएको स्पष्ट पारे।

उनका अनुसार पुस १० देखि १२ गतेको बीचमा बैठक बस्ने सम्भावना छ। तर अध्यक्ष दाहालले बैठक सञ्चालनका लागि आवश्यक बिजनेसको गम्भीर अभाव रहेको भन्दै चिन्ता व्यक्त गरे। हाल राष्ट्रिय सभामा करिब १० दिनसम्म मात्रै चल्ने कार्यसूची रहेको र जम्मा २–४ वटा विधेयक मात्र छलफलका लागि उपलब्ध रहेको उनले बताए।

उनका अनुसार अध्यादेशमार्फत आएको आर्थिक विधेयक प्रतिनिधि सभामै छलफल हुने भएकाले राष्ट्रिय सभामा छलफलको अधिकार छैन। यस कारण राष्ट्रिय सभाको भूमिकामा सीमितता देखिएको अध्यक्ष दाहालको भनाइ छ।

‘हामीसँग आयोगका प्रतिवेदन, मन्त्री बोलाएर छलफल गर्ने जस्ता विकल्प छन्, तर ती पर्याप्त होइनन्,’ उनले भने, ‘सरकारलाई आवश्यक बिजनेसको व्यवस्था गर्न अनुरोध गरिसकेका छौँ।’ राष्ट्रिय सभालाई नियमित रूपमा सञ्चालन गर्न कार्यसूची व्यवस्थापन मुख्य चुनौती बनेको अध्यक्ष दाहालले बताए।