एमालेको नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ।
यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण प्रक्रिया एक दिनका लागि स्थगित गरिएको थियो। मङ्गलवार साँझ मतदान हुने आशामा महाधिवेशन प्रतिनिधिहरू लामो समयसम्म लाइनमा बसेका थिए।
तर राति करिब ८ बजे मतदान भोलिका लागि सारिएको जानकारी दिँदै प्रतिनिधिहरूलाई फर्काइएको थियो। एमाले महासचिव शंकर पोखरेलका अनुसार निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा प्राविधिक समस्या देखिएको थियो।
नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गर्नुपरेको उनले स्पष्ट पारे।
नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन्।












