निर्वाचन आचारसंहितामा कडाइ, आमसभा र जुलुसमा १० वटा मात्रै झण्डा प्रयोग गर्न पाइने
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रस्तावित आचारसंहितामा झण्डा र प्रचारप्रसारसम्बन्धी कडा व्यवस्था अघि सारेको छ।
आयोगका अनुसार अब कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउनेछन्। झण्डाको अत्यधिक प्रयोगबाट हुने दुरुपयोग रोक्न यस्तो व्यवस्था प्रस्ताव गरिएको आयोगले जनाएको छ।
प्रस्तावित आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारको कार्यालयमा तीन बाइ चार फिटसम्मको दलको झण्डा र सोही आकारको चुनाव चिह्न राख्न पाइनेछ। तर प्रचारप्रसारको उद्देश्यले डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन वा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न पाइने छैन।
यस्तै, १० वटा झण्डा र चुनाव चिह्न प्रयोग गर्न तथा राजनीतिक दल वा उम्मेदवारको नाम र चिह्न भएको एउटा मात्र तुल वा फ्लेक्स राख्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढी सहभागी भई जुलुस निकाल्न नपाइने उल्लेख छ। चुनाव प्रचारका बेला बाजागाजा र झाँकी प्रयोग गर्न पनि निषेध गरिएको छ।
अनलाइन, वेवपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर, बैंकका एटीएम तथा काउन्टर, सडक नाटकजस्ता माध्यमबाट दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ। यद्यपि दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारिक वेवपेजमा प्रचार सामग्री राख्न सक्नेछन्।
दलको झण्डा वा उम्मेदवारको चुनाव चिह्नको तोरण सार्वजनिक रूपमा प्रदर्शन गर्न, भित्तेलेखन गर्न, तथा चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा र ठेलागाडाजस्ता सवारी साधन प्रयोग गरी र्याली वा प्रचारप्रसार गर्न नपाइने पनि प्रस्तावित आचारसंहितामा उल्लेख छ। रासस
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने उद्देश्यले आचारसंहिताको प्रस्ताव गरिएको जनाएको छ।












