ऊर्जामन्त्री बनेका कुलमान घिसिङले पदभार ग्रहण गर्दै लिए पहिलो निर्णय – वक्यौता रकम असुलीमा जोड

User Image Prime TV News २ हप्ता अगाडि
Image of ऊर्जामन्त्री बनेका कुलमान घिसिङले पदभार ग्रहण गर्दै लिए पहिलो निर्णय – वक्यौता रकम असुलीमा जोड

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले सोमबार मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशकका रूपमा सफल कार्यसम्पादन गरिसकेका घिसिङले मन्त्री बनेको पहिलो दिनमै कार्यशैलीमा स्पष्ट सन्देश दिएका छन्। पदभार ग्रहण गरेलगत्तै उनले विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने निर्णय लिएर आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन्।

उनका अनुसार, विद्युत प्राधिकरणको ठूलो परिमाणमा रकम विभिन्न निकाय र उपभोक्ताबाट उठ्न बाँकी रहेको छ, जसले संस्थाको नगद प्रवाहमा समस्या सिर्जना गरिरहेको छ। उनले यस वक्यौता रकमलाई छिटोभन्दा छिटो असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेका छन्।

पदभार ग्रहण समारोहलाई सादा र व्यावसायिक बनाउँदै मन्त्री घिसिङले खादा, माला र अबिर नलिने निर्णय गरेर उदाहरणीय सन्देश दिन समेत खोजेका छन् । उनले भने, “हामी अनावश्यक औपचारिकता होइन, काम गर्न आएका हौं। अब समय काम गर्ने हो, देखाउने हो।”

उनले मन्त्रालयमा अनुशासन, पारदर्शिता र कार्यकुशलता स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा रहदा उनले लोडसेडिङ अन्त्य गर्ने ऐतिहासिक सफलता प्राप्त गरेका थिए। अहिले मन्त्रीका रूपमा उनलाई फेरि ऊर्जा क्षेत्रमा नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ।

जनस्तरमा लोकप्रिय छवि बनाइसकेका घिसिङको मन्त्री पदमा पुनः आगमनले ऊर्जा क्षेत्रमा सुधारको आशा पलाउने विश्वास लिइएको छ ।