एमाले महाधिवेशनमा मतदान प्रक्रिया अघि बढ्दै, प्रतिनिधि लामबद्ध

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमाले महाधिवेशनमा मतदान प्रक्रिया अघि बढ्दै, प्रतिनिधि लामबद्ध

काठमाडौ । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान प्रक्रिया अघि वढ्दै छ।

निर्वाचन कार्यतालिकाअनुसार बिहान ८ बजेबाट मतदान सुरु हुने तयारी छ । जसका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि मतदान स्थलमा लाइनमा बस्न थालेका छन्।

यसअघि मङ्गलबार साँझ मतदान गर्ने तयारी गरिएको थियो। तर अन्तिम समयमा प्राविधिक समस्या देखाउँदै मतदान स्थगित गरिएको थियो। मतदान हुने विश्वासमा प्रतिनिधिहरू करिब दुई घण्टासम्म लाइनमा बसे पनि तयारी अपुरो रहेको भन्दै प्रक्रिया रोकिएको थियो।

एमाले निर्वाचन आयोगका अनुसार यसपटक मतदान विद्युतीय माध्यमबाट गरिँदैछ। रामलक्ष्मण भोटिङ मेसिन प्रयोग गरी मतदान हुने व्यवस्था गरिएको आयोगले जनाएको छ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। दुवै नेताले आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।

११औँ महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार चुनावी मैदानमा छन्। सबै केन्द्रीय पदहरू समेट्दा ३०० भन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्।