एमाले महाधिवेशनमा मतदान सुरु, नेतृत्व चयनको निर्णायक चरणमा
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान औपचारिक रूपमा सुरु भएको छ।
अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेपछि महाधिवेशन प्रतिनिधिहरूलाई मतदानका लागि क्रमशः भित्र प्रवेश गराइएको छ।
अध्यक्षका उम्मेदवार केपी शर्मा ओली मतदानस्थलमा उपस्थित भएपछि मतदान प्रक्रिया सुरु गरिएको हो। अर्का उम्मेदवार ईश्वर पोखरेल भने बिहानैदेखि मतदानस्थल पुगेर प्रतिनिधिहरूसँग भेटघाट र मत माग्ने काममा सक्रिय देखिएका छन्।
यसअघि हिजो बिहान १० बजे मतदान सुरु गर्ने कार्यतालिका बनाइए पनि पटक–पटक समय सारिँदै राति ९ बजेसम्म पुर्याइएको थियो। तर उम्मेदवारको संशोधित नामावली विद्युतीय भोटिङ मेसिनमा समावेश गर्न ढिलाइ हुनु र फन्टसम्बन्धी प्राविधिक समस्या देखिएपछि मतदान आज बिहानका लागि सारिएको थियो।
३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि भृकुटीमण्डपमा भेला भएका छन्। केही पदमा भने उम्मेदवार निर्विरोध चयन भइसकेका छन्।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ। एक जना प्रतिनिधिले मतदान गर्न औसतमा ३५ देखि ४० मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले एक पटकमा ५० जनालाई मतदान गराउने व्यवस्था मिलाएको छ। मतदानमा महिला र पुरुषका लागि एउटै लाइन व्यवस्था गरिएको छ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्। निर्वाचन आयोगका अनुसार पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ।
महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा छन्। यस्तै, तीन उपमहासचिव पदका लागि सात जना र नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ।
पटक–पटक स्थगित भएपछि सुरु भएको मतदान प्रक्रियाले एमाले महाधिवेशनलाई निर्णायक मोडमा पुर्याएको छ। नेतृत्व चयनको नतिजाप्रति पार्टीभित्र र बाहिर व्यापक चासो देखिएको छ।













