अमेरिकामा अध्यागमन नीति थप कडा, ट्रम्प प्रशासनले यात्रा प्रतिबन्धको सूची विस्तार गर्यो
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन नीतिलाई थप कडा बनाउँदै यात्रा प्रतिबन्धको दायरा विस्तार गरेको छ। मंगलबार जारी गरिएको नयाँ आदेशअनुसार थप पाँच देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने अन्य १५ देशमाथि आंशिक प्रतिबन्ध लागू गरिएको छ।
सरकारी आदेशमा बुर्किना फासो, माली, नाइजर, साउथ सुडान र सीरियालाई पूर्ण प्रतिबन्धको सूचीमा समावेश गरिएको छ। यसका साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी गरिएका यात्रा कागजात बोकेका व्यक्तिहरूलाई पनि अमेरिका प्रवेश गर्न नपाइने स्पष्ट गरिएको छ।
नयाँ निर्णय वासिङ्टन डीसीमा केही दिनअघि भएको गोलीकाण्डपछि आएको हो । जहाँ अफगान मूलका एक व्यक्तिले नेशनल गार्डका दुई सैनिकमाथि गोली प्रहार गरेका थिए। प्रशासनले राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो कदम चालिएको जनाएको छ।
यस्तै, आंशिक प्रतिबन्धको सूचीमा अंगोला, एन्टिगुआ र बारबुडा, बेनिन, कोटे डी आइभर, डोमिनिका, ग्याबोन, गाम्बिया, मलावी, मौरिटानिया, नाइजेरिया, सेनेगल, तान्जानिया, टोंगा, जाम्बिया र जिम्बाब्वे थपिएका छन्।
यसअघि ट्रम्प प्रशासनले अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकमाथि पूर्ण यात्रा प्रतिबन्ध लगाएको थियो। बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरू कडा प्रतिबन्धको दायरामा छन्।













