मतगणना सकिएपछि आजै परिणाम सार्वजनिक हुने
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन जारी छ ।
पार्टीले मतदान सकिएपछि आजै राति नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता राजेन्द्र गौतमले मतदान प्रक्रिया सम्पन्न भएको दुई घण्टाभित्रै मतगणना सकाएर परिणाम सार्वजनिक गरिने जानकारी दिए।
उनका अनुसार राति साढे १० बजेसम्म नतिजा सार्वजनिक हुने सम्भावना छ। गौतमले मतदाता संख्या र विद्युतीय मतदान प्रणालीको क्षमतालाई ध्यानमा राखेर समय व्यवस्थापन गरिएको बताए। एक पटकमा ८० जना प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था मिलाइएको र प्रत्येक मतदातालाई औसतमा २० मिनेट समय लाग्ने अनुमान गरिएको उनको भनाइ थियो।
‘यस आधारमा आठदेखि साढे आठ घण्टाभित्र मतदान सम्पन्न गर्ने लक्ष्य लिएका छौं,’ गौतमले भने, ‘निर्वाचन आयोगबाट प्राप्त सूचनाअनुसार प्रक्रिया निर्धारित तालिकाअनुसार नै अघि बढिरहेको छ।’ मतदान प्रक्रिया सकिएलगत्तै मतगणना सुरु गरिने र आजै पार्टीको नयाँ नेतृत्वबारे औपचारिक घोषणा गरिने तयारी भएको एमालेले जनाएको छ।












