रवि लामिछानेसम्बन्धी राहदानी मुद्दा अघि बढेन, पेसी स्थगित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रवि लामिछानेसम्बन्धी राहदानी मुद्दा अघि बढेन, पेसी स्थगित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतमा हुने तय भए पनि अन्तिम समयमा पेसी स्थगित भएको छ।

युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा आज सुनुवाइ तोकिएको थियो। महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गैरकानुनी भएको जिकिर गर्दै उनले सर्वोच्च अदालतको शरण लिएका हुन्।

महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेमाथि राहदानी प्रकरणमा अभियोजन आवश्यक नरहेको निष्कर्ष निकालेको थियो। त्यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले पनि मुद्दा नचलाउने निर्णय गरेका थिए।

रिट निवेदनमा अमेरिकी नागरिकता कायम रहेका बेला आफूलाई नेपाली नागरिक भन्दै राहदानी प्राप्त गरिएको उल्लेख गरिएको छ। यस्तो कार्य राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीत रहेको दाबी गर्दै पनि महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नु पूर्वाग्रही र अधिकारक्षेत्रबाहिरको कदम भएको पौडेलको आरोप छ।

महान्यायाधिवक्ताले राहदानी प्राप्त गर्ने क्रममा आपराधिक मनसाय नरहेको निष्कर्ष निकाल्नु आफ्नो अधिकारभन्दा बाहिरको व्याख्या भएको भन्दै रिटमार्फत त्यसलाई चुनौती दिइएको छ।सुनुवाइ स्थगित भएपछि अब सर्वोच्च अदालतले उक्त मुद्दामा नयाँ पेसी मिति तोक्नेछ।