संविधान अनुसार अघि बढ्न निर्वाचन अपरिहार्यः प्रधानमन्त्री कार्की

User Image Prime TV News ४ हप्ता अगाडि
Image of संविधान अनुसार अघि बढ्न निर्वाचन अपरिहार्यः प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक र सुरक्षित ढंगले अघि बढाउन निर्वाचन नै एकमात्र विकल्प भएको स्पष्ट पारेकी छन्। उनले निर्वाचनमार्फत जनताको नयाँ जनादेश प्राप्त गरी सरकारमा शक्ति हस्तान्तरण गर्न सकिने बताइन्।

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी उच्च तहमा पुगेको जानकारी दिइन्। प्रधानमन्त्री कार्कीले भने, “निर्वाचनलाई कम खर्चिलो, निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक छ।”

प्रधानमन्त्री कार्कीले २३–२४ भदौमा भएको जेनजी आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको भन्दै सरकार अहिले सुशासन र निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेको बताइन्। उनले अराजक प्रवृत्ति र आपराधिक गतिविधिलाई समाजमा कुनै स्थान नदिन सुरक्षा निकाय सक्रिय रहेको जानकारी गराइन्।

साथै उनले समुदायलाई पनि शान्ति कायम राख्न र अवाञ्छित गतिविधिविरुद्ध हातेमालो गर्न आग्रह गर्दै भनिन्, “खराब तत्वको विरोधमा समाजको भूमिकापनि उत्तिकै महत्वपूर्ण छ। आउनुहोस्, यसमा सबैले मिलेर हातेमालो गरौं।”