सेयर बजारमा लगातार तेस्रो दिन हरियाली, परिसूचक २६२५ अङ्क नाघ्यो
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । सेयर बजार परिसूचक लगातार तेस्रो कारोबार दिन पनि बढेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५.७० अङ्कले बढ्दै २६२५.७० अङ्कमा पुगेको हो । यसअघि सोमबार र मंगलबार पनि बजार बढेर बन्द भएको थियो । मंगलबार बजार १८.३७ अङ्कले उकालो लागेको थियो भने सोमबार ६.७४ अङ्कको वृद्धि देखिएको थियो ।
बुधबार सेयर बजारमा कुल ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत रूपमा हेर्दा होटल, निर्जीवन बीमा र ट्रेडिङ समूहमा गिरावट आएको छ भने बाँकी सबै समूहका सूचकमा वृद्धि देखिएको छ । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक १.७५ प्रतिशतले बढेको छ ।
कारोबारका क्रममा स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । यता बाराही हाइड्रोपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट ब्रेकर लागेको छ । कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर अग्रस्थानमा रहँदै २२ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेयर सङ्ख्याको आधारमा पनि युनियन हाइड्रोपावर नै अगाडि देखिएको छ भने कारोबार सङ्ख्याको आधारमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज अगाडि रहेको छ ।













