जेनजी आन्दोलन छानबिनमा राजनीतिक नेतृत्वको बयान लिन आयोग सक्रिय
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी तीव्र पारेको छ । आयोगले आगामी साताभित्र तत्कालीन उच्च पदस्थ राजनीतिक नेतृत्वसँग बयान लिने प्रक्रिया अघि बढाउने जनाएको छ ।
आयोग अध्यक्ष गौरीबहादुर कार्कीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराएका छन् । आयोगका अनुसार भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनमा भएको दमन तथा भोलिपल्ट भएको विध्वंशका घटनाबारे निष्कर्षमा पुग्न राजनीतिक निर्णय तहको बयान आवश्यक भएकाले उनीहरूलाई बोलाउने तयारी गरिएको हो ।
आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने तयारी गरिरहेको छ । यसअघि पूर्वप्रधानमन्त्री ओलीले आयोगसमक्ष बयान नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
यसअघि आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तत्कालीन प्रमुखहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छबि रिजाल तथा तत्कालीन नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङसँग बयान लिइसकेको छ । सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गत असोज ५ गते तीन महिनाको म्याद तोकी आयोग गठन गरेको थियो ।
आयोगको म्याद यही पुस ९ गते सकिँदैछ । तर, हालसम्म बयान सङ्कलन तथा अन्य विवरण संकलनको काम पूरा हुन नसकेकाले आयोगको समयावधि थपिने देखिएको छ । आयोगसम्बद्ध स्रोतका अनुसार बाँकी काम सम्पन्न गर्न थप समय आवश्यक भएकाले आयोगको म्याद एक महिना थपिने सम्भावना रहेको छ ।
आयोग अध्यक्ष कार्कीले प्रधानमन्त्रीसँगको भेटमा यही विषयमा औपचारिक आग्रहसमेत गरेका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले आयोगको कार्यादेश विस्तार गर्ने निर्णय गरिसकेको छ ।













