पुस ४ गते मधेस प्रदेश सरकारको विश्वासको परीक्षा

User Image Prime TV News ४ हप्ता अगाडि
Image of पुस ४ गते मधेस प्रदेश सरकारको विश्वासको परीक्षा

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । यसका लागि मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयलाई औपचारिक पत्र पठाउँदै आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

प्रदेश सभा सचिवालयलाई पठाइएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) अनुसार २०८२ पुस ४ गते शुक्रबार दिउँसो ४ बजे प्रदेश सभाबाट विश्वासको मत लिने उल्लेख गरिएको छ । मुख्यमन्त्री नियुक्त भएको करिब एक महिना बितिसक्दा पनि विश्वासको मत नलिएका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।

हाल मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट जङ्गीलाल यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नेकपा (एकीकृत समाजवादी) बाट गणेश पटेल उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री, नेकपा (माओवादी केन्द्र) बाट जवाहर कुशवाह उर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र लोकतान्त्रिक समाजवादी पार्टीबाट रानीकुमारी तिवारी मन्त्री रहेका छन् । तिवारीलाई मन्त्रालयको जिम्मेवारी तोक्न भने बाँकी नै छ ।

कृष्णप्रसाद यादव गत मंसिर १९ गते छ दलको समर्थनमा ७७ जना प्रदेश सभा सदस्यको समर्थन जुटाउँदै मुख्यमन्त्री बनेका थिए । संविधानले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान गरेको छ ।