देउवा फेरि सभापति बन्न पाउँनुहुन्न: डा शेखर कोइराला
Prime TV News ४ हप्ता अगाडि 
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको निर्वाचन र महाधिवेशन एउटै प्रक्रियाका रूपमा अघि बढ्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशन तोकिएकै समयमा हुने बताए, यद्यपि क्रियाशील सदस्यतासम्बन्धी समस्या समाधान गर्न दुई–चार दिन मिति सर्न सक्ने सम्भावना रहेको स्वीकार गरे।
नेता कोइरालाले पार्टीभित्र अनावश्यक बहाना बनाएर महाधिवेशन लम्ब्याउने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। उनका अनुसार समयमै महाधिवेशन नगर्नु विधानविपरीत मात्र होइन, राजनीतिक रूपमा पनि गैरजिम्मेवार कदम हुनेछ।
पार्टी विधानको हवाला दिँदै उनले वर्तमान सभापति शेरबहादुर देउवाले दुई कार्यकाल पूरा गरिसकेकाले आगामी महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दिन नपाउने ठोकुवा गरे। विधान स्पष्ट हुँदा पनि अन्योल सिर्जना गर्नु गलत रहेको उनको भनाइ थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सहभागी हुने तयारीमा रहेको जानकारी दिँदै नेता कोइरालाले त्यसका लागि सरकारले न्यूनतम सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए। फरार कैदी पक्राउ, लुटिएका हातहतियार बरामद र समग्र सुरक्षाको वातावरण निर्माण नगरेसम्म निष्पक्ष निर्वाचन सम्भव नहुने उनले चेतावनी दिए।
यदि तोकिएको समयमा निर्वाचन हुन नसके कांग्रेसले संसद् पुनःस्थापनाको माग उठाउने उनले स्पष्ट संकेत गरे। नेता कोइरालाको यो अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व परिवर्तन र समयमै निर्वाचन गराउन दबाब थपिएको देखिएको छ।













