२२ घण्टा लगाएर सकियो एमालेको मतदान
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ मत खसेको छ ।
३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित रहे। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो। अध्यक्ष पदका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेका थिए भने अन्तिम मत नेता योगेश भट्टराईले हालेका थिए
एमालेको महाधिवेशन मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन भएको थियो। मङ्सिर २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु भए पनि अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी बैठकका कारण बन्दसत्र तोकिएको बिहान ७ः३० बजेभन्दा झण्डै आठ घण्टा ढिला दिउँसो ३ः३० बजे मात्र सुरु भएको थियो।
नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको भए पनि पटक–पटक संशोधन हुँदै अन्ततः मतदान पुस २ गते बिहान ९ः३० बजेबाट मात्र सुरु हुन सकेको थियो।
बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि साढे एक घण्टा ढिला गरी ९ बजेपछि मात्र प्रक्रिया अघि बढाइएको थियो। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच सीधा प्रतिस्पर्धा छ। महासचिव पदमा पनि दुई जनाबीच मात्र प्रतिस्पर्धा रहेको छ ।
जहाँ शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा छन्। विधानअनुसार पाँच उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् भने तीन उपमहासचिव पदका लागि छ जना प्रतिस्पर्धामा छन्। सबैभन्दा बढी प्रतिस्पर्धा नौ सिट रहेको सचिव पदमा देखिएको छ ।
जहाँ २० जना नेताहरू उम्मेदवार बनेका छन्। गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राईलगायत चर्चित नेताहरू सचिव पदका प्रत्याशी छन्।
यसअघि मङ्सिर २८ गते बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौ २०–२२ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनले गरेको निर्णय उल्टाउँदै पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरेको थियो। विधान महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ पदाधिकारी र स्थायी कमिटी नराख्ने व्यवस्था गरेको थियो।
तर अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी बढाउन दबाब रहेको भन्दै प्रस्ताव ल्याएपछि अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जनाको संरचना तय गरिएको हो। यसपटक वरिष्ठ उपाध्यक्ष पद भने थप गरिएको छैन, जबकि विगतमा सो पद रहेको थियो।













