पराजय पछि पनि एमाले अभियानमा सक्रिय रहने ईश्वर पोखरेलको घोषणा
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका नेता ईश्वर पोखरेलले पार्टीको वैचारिक तथा संगठनात्मक अभियानमा निरन्तर सक्रिय रहने बताएका छन्।
मतपरिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले आफू निर्वाचित नभए पनि देशभक्तिपूर्ण, लोकतान्त्रिक आन्दोलन तथा समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो भूमिका निरन्तर रहने स्पष्ट पारेका छन्।
उनले एमालेको नयाँ निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टीलाई अझ सुदृढ र लोकतान्त्रिक ढंगले अघि बढाउन सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्।
महाधिवेशनका क्रममा उठाइएका वैचारिक मुद्दाहरूले पार्टीभित्र नयाँ उचाइको बहस पाउने विश्वास व्यक्त गर्दै पोखरेलले जनताको बहुदलीय जनवाद, सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तजस्ता विषयहरू आगामी दिनमा पनि केन्द्रमा रहने बताएका छन्।












