एमाले नेता काशीनाथ अधिकारी सक्रिय राजनीतिबाट विश्राम

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एमाले नेता काशीनाथ अधिकारी सक्रिय राजनीतिबाट विश्राम

काठमाडौ । नेकपा एमालेका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिएका छन्।

६६ वर्षीय अधिकारीले आज बिहान सामाजिक सञ्जालमार्फत् सक्रिय राजनीतिक जीवनबाट अलग हुने घोषणा गरेका हुन्। घोषणामा उनले आफ्नो राजनीतिक यात्रामा जिम्मेवारी जसरी पनि पूरा गर्ने कार्यशैलीलाई प्राथमिकता दिएको उल्लेख गरेका छन्।

पद र अवसरका लागि कहिल्यै मरिहत्ते नगरेको स्पष्ट पार्दै अब पार्टीका कुनै पनि कमिटी वा निकायमा नरहने जानकारी दिएका छन्। अधिकारीले साधारण सदस्यका रूपमा पार्टी, समाज र देशको हितमा निरन्तर योगदान दिने प्रण गरेका छन्।

राजनीतिमा औपचारिक पद नलिए पनि वैचारिक र नैतिक रूपमा पार्टीसँग जोडिरहने संकेत उनले दिएका छन्। हालै सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओली नेतृत्वको प्यानलले उनलाई अनुशासन आयोगको अध्यक्षका रूपमा प्रस्ताव गरेको थियो।

तर अरू नेताहरूलाई अवसर दिनुपर्छ भन्दै उनले उम्मेदवारी दर्ता गरेका थिएनन् ।