एएफसीले एन्फा माथि २ हजार डलर जरिवाना, मलेसिया र नेपालको खेलमा ढिलाइको आरोप
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एएनएफए)लाई आफ्नो प्रतियोगिता सञ्चालन नियम उल्लंघन गरेको आरोपमा २,००० अमेरिकी डलरको जरिवाना लगाएको छ।
एएफसीको अनुशासन तथा इथिक्स कमिटीले १५ डिसेम्बर २०२५ का दिन आफ्नो बैठकमा नेपाल र मलेसिया बीचको एसियन कप छनोट खेलको दौरानका ढिलाइका कारण यो निर्णय सुनाएको हो। नोभेम्बर १८, २०२५ को दिन मलेसियाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ र दोस्रो हाफको सुरुवातमा नेपालका अफिसियलहरूले निर्धारित समयभन्दा ढिलाइ गरी मैदानमा प्रवेश गरेका थिए।
पहिलो हाफको सुरुवातमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफको सुरुवातमा १ मिनेट ३० सेकेन्ड ढिलाइ भएको थियो। एएफसीको अनुसार यसले प्रतियोगिता सञ्चालन नियमावलीको धारा २.२ को उल्लंघन गरेको आधारमा एएनएफालाई जरिवाना लगाइएको हो।
मलेसियासँगको सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो। यसका साथै, मलेसिया फुटबल संघलाई पनि समान ढिलाइको आरोपमा २,५०० अमेरिकी डलरको जरिवाना गरिएको छ। त्यसैगरी, मलेसिया खेलपछिको पत्रकार सम्मेलनमा प्लेयर अफ द म्याचलाई सहभागी नगराएको र खेलाडी मोहम्मद फैसल बिन अब्दुल हलिमलाई व्यक्तिगत रूपमा थप जरिवाना पनि तोकिएको छ।













