हादीको हत्यापछि बंगलादेश अशान्त, देशभर विरोध प्रदर्शन र कडा सुरक्षा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । गत वर्षको जुलाई आन्दोलनका प्रमुख नेता तथा इन्किलाब मञ्चका प्रवक्ता शरिफ उस्मान हादीको उपचारका क्रममा सिंगापुरमा मृत्यु भएपछि बंगलादेशको राजनीतिक अवस्था फेरि गम्भीर रूपमा अस्थिर बनेको छ। टाउकामा गोली लागेर गम्भीर घाइते भएका हादी छ दिनसम्म जीवन मृत्युसँग संघर्षरत थिए।
उनको मृत्युको खबर सार्वजनिक भएसँगै देशभर शोक, आक्रोश र व्यापक विरोध प्रदर्शन सुरु भएका छन्। राजधानी ढाकादेखि विभिन्न सहरसम्म विद्यार्थी, नागरिक समाज र राजनीतिक कार्यकर्ताहरू सडकमा उत्रिएका छन्।
अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले एक दिनको राष्ट्रिय शोक घोषणा गर्दै हादीको हत्यामा संलग्न दोषीहरूलाई चाँडै पक्राउ गरिने आश्वासन दिएका छन्। उनले हादीलाई “जुलाई आन्दोलनका निडर योद्धा” भन्दै उनको हत्या अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन्।
गत हप्ता अज्ञात आक्रमणकारीहरूले ढाकामा हादीमाथि गोली प्रहार गरेका थिए। अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि सिंगापुर लगिएको थियो। हादी शेख हसिनाको नेतृत्वमा रहेको आवामी लिग सरकारविरुद्धको आन्दोलनका अग्रपंक्तिका नेता मानिन्थे। यही आन्दोलनले गत अगस्ट ५ मा सरकार पतन गराएको थियो।













