हार अस्वाभाविक वा चिन्ताजनक होइन : एमाले नेता विष्णु रिमाल

User Image Prime TV News २ महिना अगाडि
Image of हार अस्वाभाविक वा चिन्ताजनक होइन : एमाले नेता विष्णु रिमाल

काठमाडौ । नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी महाधिवेशनमा आफू उपमहासचिव र केन्द्रीय सदस्य दुवै पदमा पराजित हुनु अस्वाभाविक र चिन्ताको विषय नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रिमालले महाधिवेशनको नतिजालाई आत्मविश्वास, संयम र पार्टीप्रतिको प्रतिबद्धताका साथ स्वीकार गरेको उल्लेख गरेका छन्। उनले महाधिवेशन असाधारण गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूति दिलाउने गरी सम्पन्न भएको बताएका छन्।

केपी शर्मा ओलीको कोर टिममा रहेका रिमालले महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखिएको दाबी गरेका छन्। पार्टी अध्यक्ष ओलीले प्रस्ताव गरेको नेतृत्व टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भएको उल्लेख गर्दै उनले आफू र एक जना उपाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित भएको बताएका छन्।

“यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्,” रिमालले लेखेका छन्, “हामी जनताको बहुदलीय लोकतन्त्रको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौँ।”