तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै

User Image Prime TV News एक महिना अगाडि
Image of तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै

काठमाडौं । फरक शैलीमा आएको भोजपुरी फ्ल्लेबरको गीत ‘लड्की गोरी’ले चलचित्र  ‘अभिमन्यु : च्याप्टर–१’  को हाइप बढाएको छ । सुरुमा एआई निर्मित भिडियोबाट प्रचार गरिएको सिनेमाको अहिले कन्टेन्ट बाहिर आएका छन् ।

यसैक्रममा एक साता अगाडि रिलिज भएको गीत ‘लड्की गोरी’ले मधेस र मधेसीको चित्रण गर्दै सिनेमाको हाइप बढाएको छ । ११ लाख भ्युज पाइसकेको यो गीतले प्रतिक्रिया पनि राम्रो पाइरहेको छ ।  भोजपुरी फ्लेबर भए पनि गीत नेपालीमा छ । भोजपुरी लवजमा रहेको गीतको भिडियो भने टिपिकल भोजपुरीमा छ । बजारमा आइरहेका भन्दा बिलकुल फरक रहेकाले यसैलाई दर्शकले मन पराइरहेका छन् ।

नेपाली चलचित्रले तराइबासीलाई उपेक्षा गरेको आरोप लाग्दै आएको छ । तराईको कथा नआउने आए पनि मजाक बनाउने गरेको लेखक, निर्माता र निर्देशकलाई आरोप लाग्दै आएको छ । यसबाट ‘अभिमन्यु’ मुक्त रहेको अनुमान लगाउन सकिन्छ । कन्टेनमा देखिने गरेको मोरङ र तराई भू–भाग, मुख्य कलाकार तराईबासी नै भएकाले तराईको कथा यो चलचित्रले उठान गरेको संकेत छ ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।

पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् ।