सुनचाँदीको मूल्यमा गिरावट, शुक्रबार सुन तोलामा दुई हजारले घट्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको हो। महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घट्दै प्रतितोला चार हजार पाँच रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग आपूर्तिको प्रभावले सुनचाँदीको मूल्यमा दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।












