अमेरिकाले डाइभरसिटी भिसा लट्री कार्यक्रम स्थगित गर्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाले वार्षिक डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै भनिन् कि राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यूएससीआईएसलाई डिभी–१ कार्यक्रम तत्काल स्थगित गर्न आदेश दिइएको छ।
यो निर्णय ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्याको आरोपित व्यक्तिको तथ्य सार्वजनिक भएपछि आएको हो। प्रहरीले जनाएअनुसार गोली हानेको क्लाउडियो म्यानुएल नेभ्स भालेन्टे सन् २०१७ मा डाइभरसिटी भिसामार्फत अमेरिका प्रवेश गरेका थिए र उनलाई ग्रीन कार्ड जारी गरिएको थियो। हाल उनी मृत अवस्थामा भेटिएका छन्।
नोएमले भनेकी छन्, “यो घिनलाग्दो व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन थियो। डिभी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानि नहोस्।”
सन् १९९० मा सुरु भएको डाइभरसिटी भिसा कार्यक्रम अन्तर्गत आप्रवासन दर कम भएका देशका नागरिकलाई वार्षिक ५० हजार भिसा प्रदान गरिन्छ। प्राप्तकर्ताहरू लट्री प्रक्रियाबाट चयन हुन्छन् र प्रत्येक वर्ष करोडौं मानिसहरूले यसमा प्रतिस्पर्धा गर्छन्।
हाल, गृह सुरक्षा मन्त्रालयले यस कार्यक्रम स्थगित गर्न प्रयोग गरेको कानुनी आधार स्पष्ट छैन। डाइभरसिटी भिसाका अधिकांश भिसा अमेरिकी विदेश मन्त्रालयले व्यवस्थापन गर्छ भने केही प्रक्रिया यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस) अन्तर्गत हुन्छ।
राष्ट्रपति ट्रम्प लामो समयदेखि डाइभरसिटी भिसा कार्यक्रमका आलोचक रहँदै आएका छन्।













