सार्वजनिक सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न ओलीको निर्देशन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सार्वजनिक सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न ओलीको निर्देशन

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन सफल भएको औँल्याएका छन्। महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो ११औँ महाधिवेशन सफलताको महाधिवेशन हो।”

ओलीले यो सफलता सिंगो पार्टीको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै भने, “यो नतिजा सिंगै पार्टीले निर्माण गरेको हो र यसलाई सिंगै पार्टीले स्वीकार गर्छ।” उनले पार्टी अब नयाँ एकताका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै भने, “हामी नयाँ एकताका साथ अगाडि बढ्छौँ, हाम्रो एक आवाज हुनुपर्छ।”

अध्यक्ष ओलीले दोस्रो विधान महाधिवेशनले अघि सारेका नीतिहरू अनुसार पार्टीलाई अघि बढाउने स्पष्ट पार्दै भने, “ती नीतिहरूमा हामी एक स्वर भएर, परेडमा आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ।”

केन्द्रीय समितिको पहिलो बैठकमा ओलीले सार्वजनिक सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न निर्देशन दिए । उनले अनुशासनमा बस्न र सामाजिक अनुशासन कायम गर्न पार्टीका नेतालाई निर्देशन दिए ।

एमाले लोकतान्त्रिक पार्टी भएकाले आफ्ना कुरा राख्न पाउने भए पनि ती कुरा नीति निर्णय भन्दाविपरीत सामूहिक हित र राष्ट्रिय स्वार्थबाहेक नबोल्न ओलीले निर्देशन दिए । उनले त्यसलाई स्वतन्त्रता नभनिने बताए ।

यस्तै बैठकले नेताहरूको कार्यविभाजन सचिवालयले तोक्ने प्रस्ताव समावेश छ। एमालेमा १९ सदस्यीय सचिवालय छ। प्रस्तावअनुसार अब कसलाई के जिम्मेवारी दिने भन्ने विषय सचिवालयले बैठकमा महासचिव पोखरेलले जानकारी दिए ।