सिंहदरबार क्षेत्रको प्रदर्शनमा ४४१ वटा सवारी र ६०१ मोटरसाइकलमा आगजनी


काठमाडौँ । सिंहदरबार र आसपासका क्षेत्रहरूमा भदौ २४ गते भएको प्रदर्शनका क्रममा सरकारी सवारीसाधनमा व्यापक आगजनी तथा तोडफोड भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। सरकारी कार्यालयहरू र गोरखापत्र संस्थानको अवलोकन अनुसार ४४१ वटा साना–ठूला सवारीसाधन (चारपांग्रे) र ६०१ वटा मोटरसाइकल तथा स्कुटर (दुईपांग्रे) मा आगजनी तथा तोडफोड भएको छ। प्रदर्शनका कारण सबैभन्दा बढी क्षति सिंहदरबारस्थित विभिन्न मन्त्रालय, विभाग र निकायका सवारीसाधनमा परेको छ।
जस अनुसार सहरी विकास तथा भवन निर्माण विभागमा सबैभन्दा बढी क्षति भएको छ – ५० चारपांग्रे र २०० भन्दा बढी दुईपांग्रे सवारीसाधनमा आगजनी भएको छ। सडक विभागले मोटरसाइकलको संख्यै गन्न नसकिने जनाएको छ। सर्वोच्च अदालतमा ५१ सवारी जलेको अनुमान गरिएको छ, तर यकिन तथ्याङ्क आउन बाँकी छ।
सरकारी निकायहरूले क्षतिको मूल्याङ्कन कार्य अगाडि बढाइरहेका छन्। क्षतिको विस्तृत विवरण आउन अझ केही समय लाग्ने अनुमान गरिएको छ। सुरक्षा निकायले अनुसन्धान थालेको छ भने दोषी पहिचान र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।