एमाले नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक: बादल दोस्रो वरीयता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा (एमाले) को एघारौँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। कार्की ब्यांकेटमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दोस्रो वरीयतामा राखिएको छ।
बैठकमा अध्यक्ष ओलीको दाहिनेपट्टि पहिलो नम्बरमा बादल बसेका थिए। त्यसपछि क्रमशः उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त वरीयताक्रममा रहेका थिए। पाँचै जना एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका हुन्।
अघिल्लो अर्थात् दशौँ महाधिवेशनमा केन्द्रीय कमिटीको पाँचौँ वरीयतामा रहेका बादल यस पटक दोस्रो स्थानमा उक्लिनु पार्टीभित्र उनको राजनीतिक प्रभाव बढेको संकेतका रूपमा हेरिएको छ। यसअघि उपाध्यक्ष रहेका विष्णुप्रसाद पौडेल पनि छैटौँ वरीयताबाट तेस्रो स्थानमा पुगेका छन्।
यसैगरी, पृथ्वीसुब्बा गुरुङ उपमहासचिवबाट उपाध्यक्षमा पदोन्नति भएका छन्। दशौँ महाधिवेशनमा ११औँ वरीयतामा रहेका गुरुङ अहिले चौथो स्थानमा पुगेका छन्। गोकर्ण विष्ट सचिवबाट उपाध्यक्ष बनेका हुन् भने अघिल्लो महाधिवेशनमा १४औँ वरीयतामा रहेका उनी अहिले पाँचौँ स्थानमा पुगेका छन्। रघुजी पन्त भने स्थायी कमिटी सदस्यबाट सिधै उपाध्यक्ष बनेका छन्।
महासचिवमा पुनः निर्वाचित शंकर पोखरेल नयाँ केन्द्रीय कमिटीको सातौँ वरीयतामा रहेका छन्। उनी अघिल्लो केन्द्रीय कमिटीमा नवौँ स्थानमा थिए। यस पटकको महाधिवेशनले एमालेको नेतृत्व संरचनामा महत्वपूर्ण परिवर्तन गरेको छ।
अघिल्लो महाधिवेशनमा रहेको वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ भने उपाध्यक्ष संख्या सातबाट घटाएर पाँच बनाइएको छ। पार्टी नेतृत्वले यसलाई संगठनात्मक चुस्तता र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने प्रयासका रूपमा व्याख्या गरेको छ।












