धरौटीमा रिहा भएपछि रवि लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन्।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रक्रिया पूरा भएलगत्तै लामिछानेले पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने अर्यालले उल्लेख गरेका छन्।
विज्ञप्तिमा रास्वपाले अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै न्यायिक प्रक्रियाप्रति पार्टीको प्रतिबद्धता दोहोर्याएको छ। पार्टीका अनुसार सभापति लामिछानेको पुनरागमनसँगै संगठनात्मक गतिविधि र राजनीतिक कार्यक्रमहरू थप सक्रिय बनाइनेछ।
रास्वपाले पछिल्लो घटनाक्रमलाई कानुनी प्रक्रियाको स्वाभाविक चरणका रूपमा लिँदै लोकतान्त्रिक मूल्य, विधिको शासन र न्यायिक निर्णयको सम्मान गर्दै अगाडि बढ्ने स्पष्ट पारेको छ।













