भ्रष्टाचार अनुसन्धानमा रहेका व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगको प्रस्ताव

User Image Prime TV News ३ हप्ता अगाडि
Image of भ्रष्टाचार अनुसन्धानमा रहेका व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगको प्रस्ताव

काठमाडौ । निर्वाचन आयोगले भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा रहेका व्यक्तिलाई निर्वाचनमा उम्मेदवार हुन नदिने प्रावधानसहित स्वघोषणाको नयाँ ढाँचा प्रस्ताव गरेको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले उम्मेदवारबाट लिने स्वघोषणामा कडा मापदण्ड समेट्ने तयारी गरेको हो।

आयोगले प्रस्ताव गरेको स्वघोषणाअनुसार कुनै पनि उम्मेदवार भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धानमा नरहेको, सो कसुरमा मुद्दा दायर नभएको तथा प्रारम्भिक अदालतबाट दोषी ठहर भई पुनरावेदनमा मुद्दा विचाराधीन नरहेको हुनुपर्नेछ। यस्तो अवस्था भएमा उम्मेदवारी दर्ता हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।

यसका साथै उम्मेदवारले नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, कुनै संघीय कानुनले अयोग्य नठहरिएको तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा तिनको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको स्वघोषणा गर्नुपर्नेछ।

सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पद धारण नगरेको, अन्य कुनै निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिएको, कुनै पनि सरकारी निकायलाई जिन्सी वा नगद बुझाउन बाँकी नरहेको तथा सरकारी पेश्की वा बेरुजु तिर्न बाँकी नरहेको विषयमा समेत उम्मेदवारले स्वघोषणा गर्नुपर्ने व्यवस्था प्रस्तावमा समावेश गरिएको छ।

निर्वाचन आयोगले प्रस्तावित व्यवस्थाले उम्मेदवारको नैतिकता, पारदर्शिता र निर्वाचन प्रक्रियाको विश्वसनीयता बढाउने विश्वास लिएको छ। प्रस्तावबारे सरोकारवालासँग छलफलपछि अन्तिम निर्णय गरिने आयोगले जनाएको छ।